राष्ट्रपतिसहित विशिष्ट व्यक्तित्वहरुबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन तथा रथ यात्रा अवलोकन

काठमाडौँ, भदौ २१ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकमा पुगी जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारको गद्दी बैठकसम्म पुग्नुभएको थियो ।

विसं २०८० देखि राष्ट्रपति पौडेलले इन्द्रजात्रा अवलोकनका लागि जुद्ध सालिकबाट पैदलमार्ग प्रयोग गर्दै आउनुभएको हो । उहाँका साथमा अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठकसम्म पुग्नुभएको थियो ।

जात्रा अवलोकन समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवसरमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाउनुभएको थियो । त्यसलगत्तै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु भएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन मानिन्छ ।

गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालका अनुसार, आज तल्लोटोलमा रथयात्रा चलाइएको छ भने आइतबार माथिल्लो टोलमा रथयात्रा गराइनेछ ।

यही भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ। सोही दिन साँझ राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ ।

भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पतन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समापन हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पुर्‍याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ भने रथयात्राको चलन राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो। जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी प्रदर्शन गरिएका थिए।