अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, भदौ २३ । आज भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘हटलाइन १११५’ सेवालाई रातभर सञ्चालन गर्ने भएको छ । यस हटलाइनमार्फत अस्पतालहरूले रगतको उपलब्धतासम्बन्धी जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् ।
मन्त्रालयका अनुसार, कुनै पनि अस्पतालमा रगतको अभाव भएमा सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अन्य अस्पतालमा रगत उपलब्ध छ वा छैन भन्ने जानकारी तत्कालै पाउन सकिनेछ ।
यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो। तर, आजको प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउनका लागि सबै सङ्घीय अस्पतालहरूलाई सर्कुलरसमेत जारी गरिसकेको छ ।