पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, भदौ २४ । नेपालको राजनीति र साहित्यमा अतुलनीय योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११२औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापनाका लागि अथक संघर्ष गर्नुभएको थियो । 

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई गरीब किसानले लगाउने कपडा पार्सल गरेपछि कोइराला परिवार भारत निर्वासनमा जान बाध्य भएको थियो । भारतमा निर्वासनमा रहँदा बीपीले भारतको स्वतन्त्रता संग्राममा सक्रियतापूर्वक भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापना सहज हुने विश्वासका साथ उहाँ उक्त आन्दोलनमा होमिनुभएको थियो । 

भारत निर्वासनकै क्रममा वि.सं. २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । जसको मुख्य लक्ष्य जहानियाँ राणा शासनको अन्त्य गर्नु थियो । प्रजातन्त्र स्थापनाको समान लक्ष्य लिएर सुवर्णशमशेरको नेतृत्वमा वि.सं. २००६ मा स्थापित नेपाल प्रजातन्त्र कांग्रेससँग एकता भएपछि वि.सं. २००७ को क्रान्ति सफल भयो । यी दुई दल एकीकृत भई बनेको नेपाली कांग्रेस हाल पनि संसदमा दोस्रो ठूलो दलका रूपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनको सरकारको नेतृत्व गरिरहेको छ ।

क्रान्तिको सफलतापश्चात् मोहनशमशेरको नेतृत्वमा बनेको राणा-कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो । वि.सं. २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ पहिलो प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्रीत्वकालमा उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभएको थियो ।