आगजनी पछि धरानकाे भाटभटेनीभित्र ३ जनाको शव भेटियो
विराटनगर, २७ भदाै । जेनजीकाे आन्दाेलन पश्चात लुटपाट र आगजनी पछि धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ ।
जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले जनाएकाे हाे । आन्दोलनका क्रममा अराजक समूहले धरान-१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो झोसेको थियो । भित्र तीनवटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए ।
आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले भाटभटेनी अनुगमन गरेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।साथै भवनकाे माथिल्लाे तलामा केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको खड्काले बताए । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ ।
मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको भन्दै हल्ला फैलिएको थियो । फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् ।