जनमतका वरिष्ठ उपाध्यक्षसहित छ जनाले दिए सामूहिक राजीनामा
काठमाडौँ, २ असोज । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् ।
नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो ।