नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका रास्वपाका नेता कँडेल कारागार चलान
काठमाडाैं, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि कँडेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नक्कली शैक्षिक प्रमाणपत्र छपाइ र होलोग्राम स्टिकर प्रकरणमा गत भदौ ४ गते पक्राउ परेका कँडेललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि कँडेललाई रास्वपाले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकसहित पार्टीको कुनै पनि जिम्मेवारी नरहने गरी निलम्बन गरेको थियो।
गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटेल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका भारत कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवको बयानको आधारमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो।
यादवले आफूले चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेलको योजना अनुसार नक्कली शैक्षिक प्रमाणपत्र र होलोग्राम स्टिकर ल्याएको बताएपछि प्रहरीले कँडेललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कँडेललाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि कारागार चलान गरेको जानकारी दिए। अहिले उनलाई जिल्ला कारागार भैरहवा पठाइएको छ।
रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका कँडेल नक्कली सर्टिफिकेट र होलोग्राम स्टिकर प्रकरणमा पक्राउ परेपछि रास्वपाले उनलाई भदौ ५ गते नै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।
कँडेललाई जिल्ला अदालतका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। कँडेलविरुद्ध यसअघि पनि नक्कली शैक्षिक प्रमाण पत्रको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।