हनुमानढोकाको दशैंघरमा साइतमै राखियो जमरा

काठमाडौं, ६ असोज । आज घटस्थापना । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज साइतमै जमरा राखिएकाे छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जमरा राखिएको हो ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको दशैं घरमा विधिपूर्पक जमरा राखिएकाे छ । आज छरिएको जमरा दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिन्छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै पञ्चाङ्ग निर्णायक विकास समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

घटस्थापना गरिएको स्थानमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरु बताउँछन् ।