दशैं विशेष(दाेस्राे दिन )

भचा खुसिको निर्मल तीर्थ

काठमाडौं, ७ असोज । दशैं अर्थात मोहनीको दाेस्राे दिन मनाइने नवरात्रिको नाम निर्मल तीर्थ हो । स्थानीय भाषामा यो तीर्थलाई भचा खुसि भनिन्छ ।

हाल काठमाडौं महानगरपालिका वडा नं. १५ मा रहेको यो तीर्थ सँगै प्रशिद्ध शोभा भगवतीको मन्दिर पनि रहेको छ । त्यस्तै त्यससँगै विद्याधरी देवी अर्थात विजेश्वरी देवीको मन्दिर विद्यमान रहेको छ ।

यो तीर्थमा केशावती, पुष्पावती र भद्रमती नदीको संगम रहेको छ । तर अहिले केशावती अर्थात बिष्णुमती नदीमा भद्रमती नदी मात्रै मिसिएको देखिन्छ । भद्रमती भन्ने नाम नै स्थानीय नेपालभाषामा ‘भचा खुसि’ हुन पुगेको हो ।

भचाखुसि काठमाडौंवासीका लागि अत्यन्त पवित्र तीर्थस्थल रहँदै आएको छ । काठमाडौंवासीहरु स्वयम्भू महाचैत्यको दर्शन गर्न जाँदा यही तीर्थमा स्नान गरेर मात्रै जाने चलन थियो ।

पहिले पहिले ढुंगाको खोंचबाट पानी झर्ने भएकोले यो तीर्थको पानी अत्यन्त कञ्चन हुने गर्दथ्यो । यो तीर्थमा पहेंलो वर्णका अपलाल नागराजको वास रहेको विश्वास गरिन्छ ।

माेहनी–नवरात्रिको दोस्रो दिन यो तीर्थमा स्नान गरी केशावती (बिष्णुमती) नदीे पारी अवस्थित लुतिमरु (इन्द्रायणी) पीठमा पूजा गरिन्छ ।

भचा खुसिको पानी अत्यन्त निर्मल र पवित्र हुने भएकोले यो दोभानको नामै निर्मल तीर्थ रहन गएको मानिन्छ ।

काठमाडौंका महत्वपूर्ण देवीदेवताहरु जस्तो जनबहाःद्यः (सेतो मछिन्द्रनाथ), विजेश्वरी आदि) लाई स्नान गराउनु पर्दा यही तीर्थको पानी प्रयोग गरिन्छ । सम्बन्धित देवताथानबाट बाजागाजा सहित आएको टोलीले तामाको घडामा यहाँको पानी भरेर लाने र आफ्ना देवतालाई स्नान गराउने परम्परा रहँदै आएको छ ।

कुनै बेला अत्यन्त घना जंगलको रुपमा रहेको यही नदीको दोभानमा वि.सं. १९९७ सालको माघ महिनामा शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हाली मृत्युदण्ड दिइएको थियो ।

त्यतिबेला कुनै अपराधमा दोषी ठहरिएका व्यक्तिलाई यही तीर्थ रहेको दोभानमा पोडे थरका मानिसले काटेर मृत्युदण्ड दिने चलन थियो । नामले ‘निर्मल’ रहे पनि हाल यो नदी अत्यन्तै फोहोर बनेको छ । खास गरी वर्षायाममा केही पानी बगे पनि अरु बेला भने ढल मात्रै बग्ने यो खोलाको पानीमा स्नान गर्न सकिने अवस्था छैन ।

शोभा भगवती छेउ बिष्णुमती नदीमा मिसिनु अघि भचा खुसिमाथि नयाँ र पुराना गरी तीन वटा पुल बनाइसकेको पाइन्छ ।

भक्तपुरमा मनाइने नवरात्रि मेलामा भने आज दोस्रो दिन महेश्वरी घाटमा स्नान गरी श्री महेश्वरी देवी पीठको पूजा गरिन्छ ।