चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

काठमाडौँ, असोज ७ । चितवन, ७ असोजः चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण पुष्टि भएको छ । यो सङ्क्रमण चालू आर्थिक वर्षको साउन महिनायता देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितहरूमध्ये तीन जना भरतपुर महानगरपालिकाका, दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका बासिन्दा रहेका छन् । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार सङ्क्रमितहरूको उमेर ३४ देखि ४४ वर्ष समूहमा रहेको छ ।

रुपाखेतीले जानकारी दिनुभएअनुसार, सङ्क्रमितहरू विभिन्न देश र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएका व्यक्तिहरू हुन् । उहाँले भन्नुभयो, “भारतबाट आएका चार जना, दक्षिण कोरियाबाट फर्किएका एक जना र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो ।”

जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो । विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिहरूमा यो रोगको सङ्क्रमण नदेखिएको रुपाखेतीले बताउनुभयो। औलो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।