विश्वकप छनोट अभ्यासमा कतारविरुद्ध नेपाल विजयी

काठमाडौँ, २० असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप भएको दोस्रो अभ्यास खेलमा नेपालले सोमबार कतारलाई १६ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २ ओभरमा सात विकेटको क्षतिमा १७० रन बनाएको थियो । कतारले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा छ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

प्रारम्भिक ब्याट्समयान कुशल भुर्तेलले ३३ बलमा सर्वाधिक ५६ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल (अविजित)ले ३८–३८ रनको पालि खेले । कतारका लागि मुनिर साद र इक्रमुल्लाह खानले दुई–दुई तथा आरिफ उल्लाह र मुजीबुर रहमानले एक–एक विकेट लिए ।

कतारको जवाफमा मोहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रनको पालि खेले । नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए । यसैगर नन्दन यादव, दीपेन्द्रसिंह र ललित राजवंशीले एक–एक विकेट हासिल गरे ।

ओमानमा हुने विश्वकप छनोट प्रतियोगिता बुधबार सुरु हुँदैछ । विश्वकप छनोटमा नौ टोली सहभागी छन् । जसमध्ये शीर्ष तीन टिम विश्वकपमा खेल्न योग्य हुने प्रावधान रहेको छ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।