सुपर सिक्समा नेपालले आज युएइविरुद्ध खेल्दै

काठमाडौँ, २६ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स आइतबार सुरु हुँदैछ ।

नौ टिमलाई तीन समूहमा विभाजन गरिएको प्रतियोगाको प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिम सुपर सिक्समा पुगेका छन् । नेपालले पनि समूह बी विजेता बनेर सुपर सिक्समा प्रवेश गरेको छ । नेपालले सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेल आइतबार संयुक्त अरब इमिरेट्स युएइसँग ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह ४ः१५ बजे खेल्नेछ । त्यसपछि नेपालले सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुनेछन् । समूह बी विजेता बनेर सुपर सिक्स सुरु हुनुअघि नै दुई अङ्क प्राप्त गरिसकेको हुँदा नेपालको लगातार दोस्रो पटक विश्वकप चयनको प्रमुख दावेदार हो । नेपाल समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अभियानमा रहेको छ ।

युएइ पनि सुपर सिक्सको बलियो टोली हो । नेपालसरह युएइ पनि शानदार लयमा रहेको छ । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएर अपराजित रहेको थियो । नेपालले कुवेत र जापानलाई हराएको थियो ।

क्रिकेटमा युएइ र नेपाल परम्परागत प्रतिद्वन्द्वी हुन् । यी दुईले अहिलेसम्म एकअर्काविरुद्ध दस टि२० अन्तर्राष्ट्रिय खेलेका छन् । दुवैले समान पाँच–पाँच खेल जितेका छ्न ।