विपिन जोशीको झन्डै दुई वर्षअघि नै हत्या भएको पुष्टि, डीएनए परीक्षण रिपोर्ट सार्वजनिक हुने तयारी

काठमाडौं, २८ असोज। गत अक्टोबर ७ मा हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशीको झन्डै दुई वर्षअघि नै हत्या भएको पाइएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोत जनाएकाे छ ।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो।
यद्यपि, यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक रूपमा जानकारी गराएको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म आफूहरूलाई जानकारी नभएको बताएका छन्।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयले यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्ने तयारी छ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो भने हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। त्यसयता उनको अवस्था अज्ञात थियो ।

इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो।