सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन
काठमाडौँ, ३० असोज । सगरमाथाको पहिलो सफल आरोहण दलका एक मात्र जीवित सदस्य, कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।
सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शिखर आरोहण गर्दा, उक्त ऐतिहासिक आरोहण दलमा भरियाका रूपमा संलग्न कान्छा शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए। उनले दुई दशकभन्दा लामो समय पर्वतारोहण क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका थिए।
शेर्पाको आज काठमाडौँको कपनस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको निधनसँगै सगरमाथाको पहिलो सफल आरोहण दलका सबै सदस्यहरू अब इतिहास बनेका छन्।