ओमानद्वारा साइबर ठगीमा संलग्न १९ नेपाली डिपोर्ट, ११ जना स्वदेश फर्किए
काठमाडौँ, ३१ असाेज । ओमानले साइबर ठगी गतिविधिमा संलग्न भएका एक महिलासहित १९ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
जसमध्ये ११ जनालाई बिहीबार नेपाल पठाइसकिएको छ भने ७ जना सोमबार स्वदेश फर्किँदैछन्। बाँकी दुई जनाको उडान भने अझै तय भइसकेको छैन। रोयल ओमान प्रहरीले उनीहरूलाई गत मार्च १० गते ओमानको सोहरबाट पक्राउ गरेको थियो।
स्थानीय अदालतले उनीहरूमध्ये अधिकांशलाई ६ महिना कैद र तीन सय ओमानी रियाल जरिवानाको फैसला सुनाएको थियो। दुई जनालाई भने ६ महिना कैद र ६ सय रियाल जरिवाना लगाइएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका नेपालीहरूलाई विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा प्रयोग गरिएको पाइएको छ। रोयल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा उक्त ठगी सञ्जाललाई पछ्याउँदै पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उक्त ठगी समूहले नक्कली बैंक वेबसाइट, रोम्यान्स च्याट एप, र क्रिप्टो ट्रेडिङ प्लेटफर्महरूमार्फत खाडीमा बसोबास गर्ने नेपालीसहित एशियाली नागरिकहरूलाई लक्षित गरेको थियो। प्रहरीको भनाइअनुसार, पक्राउ परेकाहरूले ओमान प्रवेश गरेपछि उनीहरूको पासपोर्ट र कागजात खोसिएको र तिनलाई अनलाइन ग्राहक सेवा वा लगानी परामर्शदाताको नाममा नक्कली वेबसाइट तथा च्याट एपमार्फत ठगी गतिविधि गर्न तालिम दिइएको थियो।
मस्कटस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सोसल क्लब, ओमानले कैद भुक्तानी हुने बित्तिकै आवश्यक समन्वय गरी उनीहरूलाई नेपाल पठाउन सहजीकरण गरेका थिए। पक्राउ परेका नेपालीहरूलाई राखिएको जेल राजधानी मस्कटबाट तीन सय किलोमिटर टाढा सोहरमा पर्छ।
एनआरएनए नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काले सुरुमा परिवारबाट मान्छे हराएको भनी सम्पर्क आएपछि खोजतलास गर्दा उनीहरू सोहरको जेलमा रहेको पत्ता लागेको बताए। “उनीहरू भिजिट भिसामा दुबईमा आएका रहेछन्,” खड्काले भने, “दुबईबाट एउटा चाइनीज कम्पनीले भिजिट भिसामा काम गर्न ओमान ल्याएको रहेछ। यहाँ ठगी गर्ने एउटा नेटवर्किङ कम्पनी रहेछ। उनीहरू त्यस्तो कम्पनीमा परेछन्। त्यही बेला प्रहरीले छापा मार्दा २० जना नेपाली सहित दुई सय ५७ जनालाई पक्राउ गरेको थियो।”
सोहरमा कार्यरत क्लबका केन्द्रीय सदस्य देवान खड्काले मस्कटमा रहेका दूतावास, परिवार र जेलभित्र रहेका नेपालीबीच समन्वयको भूमिका खेलेका थिए।