नेपाल सम्बत् चेसमा निकेन कुसाथा विजयी
भक्तपुर, ४ कात्तिक । नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा आयोजना गरेको जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा दोस्रो वरीयता निकेन कुसाथा पहिलो भएका छन् ।
बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा१९४६ रेटेड निकेनले सात चरणमा ६.५ अङ्क जोड्दै ५२ जना प्रतिस्पर्धीलाई पछि पारेका हुन् । १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्। १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे।
यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपतिले ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरे ।
राजेश संगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमशः १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे।
भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बताए । ।