‘जेनजी’ प्रदर्शनका क्रममा भागेका करिब पाँच हजार कैदीबन्दी अझै फरार
काठमाडौँ, १० कात्तिक । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेका करिब पाँच हजार कैदीबन्दी अझै फरार रहेका छन् ।
प्रदर्शनले उग्र रूप लिएपछि देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ बन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, हालसम्म नौ हजार ५८२ बन्दी मात्र कारागार फर्केका छन् । तीमध्ये नौ हजार कैदी र ५८२ बालबन्दी रहेका छन् । यसरी हेर्दा, अझै चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी फरार अवस्थामै छन् ।
ठूलो संख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ समेत दिएको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।
गृहमन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरेको थियो ।
प्रदर्शनको मौका पारेर सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । यसैगरी, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए ।
सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई-दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार रहेका कैदीबन्दीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।