वरिष्ठ अधिवक्ता पोखरेलको माग: ‘यो सरकारले गर्ने कुनै पनि निर्णय गैरसंवैधानिक हुन्छ, अन्तरिम आदेश जारी होस्’
काठमाडौँ, १२ कात्तिक । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ क्रममा वरिष्ठ अधिवक्ता एगराज पोखरेलले अहिलेको सरकारलाई कुनै पनि काम-कारबाही नगर्नू भनी अन्तरिम आदेश जारी गर्न माग गर्नुभएको छ ।
सर्वोच्च अदालतको एनेक्स भवनमा इजलास तयार गरी बुधबारबाट प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ सुरु भएको हो ।
वरिष्ठ अधिवक्ता पोखरेलले उक्त माग गरेपछि प्रधानन्यायाधीशले प्रश्न गर्नुभयो, ‘कुनै पनि काम-कारबाही नगर भन्दा सरकारविहीन अवस्था हुँदैन?’
यसमा पोखरेलले भन्नुभयो, ‘यो सरकारले गर्ने कुनै पनि निर्णय गैरसंवैधानिक हुने भएकाले प्रशासनिक काम-कारबाहीबाहेक अरू गर्न दिन हुँदैन । त्यसैले नै यो सरकारको काम-कारबाही गर्न दिन मिल्दैन । अन्तरिम आदेश जारी होस् ।’
प्रतिनिधिसभा विघटनविरुद्ध कुल १६ वटा रिट परेका थिए । ती सबै रिटलाई एउटै मुद्दाका रूपमा सुनुवाइ भइरहेको छ । सुनुवाइका लागि वरिष्ठताका आधारमा न्यायाधीशहरूको संवैधानिक इजलास गठन गरिएको छ ।