कालीगण्डकीको बाढीले पुलको पहुँचमार्ग बगायो
नवलपुर (नवलपरासी), १० असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँचमार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ ।
अविरल वर्षापछि आज कालीगण्डकी नदीमा आएको बाढीको कटानका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान भएको हुँदा सवारीसाधन एवं पैदलयात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो । नवलपुरको डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने यस गण्डकी प्रदेशमार्ग हुँदै दैनिक रूपमा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पा आवतजावत गर्ने गरेका थिए । यो सडक प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सडक हो ।
