मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै: अमलाको फेदमा सामूहिक भोजनको परम्परा
महोत्तरी, १३ कात्तिक । मधेस प्रदेशका महोत्तरीसहितका जिल्लाहरूमा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा सामूहिक भोजन र रमाइलो चाडबाडका रूपमा मनाइने परम्परा छ ।
यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै सामूहिक भोजनको तयारी गरिन्छ । घर नजिकै, बगैँचा वा वनक्षेत्रमा रहेको अमलाको रूखमुनि खानेकुरा पकाएर खाने चलन छ । घरको आँगन वरपर अमलाको रूख हुनेहरूले दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार अमलाको पात खसेको खानेकुरा खाने जनविश्वास छ ।
पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार, यो पर्वले चिसो मौसममा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्दछ । उहाँ भन्नुहुन्छ, “धातृ (अमला) अत्यन्त गुणकारी फल मानिन्छ, जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ ।”
यस अवसरमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिन्छन् । जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायका अनुसार, पछिल्लो पुस्ताको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्छ । बर्दिबास–१२ बिजलपुराका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाका अनुसार, अमलाको नियमित प्रयोगमा जोड दिने यो परम्परा स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी छ ।
यस पर्वसँग जोडेर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलित छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरी कंश बध गर्नुअघि मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद् रायको भनाइ छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने मान्यताले यस दिनलाई अक्षय नवमी भनिन्छ । यसैगरी, श्रीविष्णुको आराधनाले इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उहाँको भनाइ छ ।