नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन

काठमाडौँ, १४ कात्तिक । नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ ।

सुख खोज्ने बहानामा खुसी छोडिरहेकाको कथाले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्देशक दीपकप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाएको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने चलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु ।”

निर्देशक आचार्यले चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) उपस्थित भएर चलचित्र हेर्नुभएका चलचित्रकर्मीले दिनुभएको प्रतिक्रियाले आफू उत्साहित भएको र दर्शकबाट पनि उस्तै प्रतिक्रिया आउने अपेक्षा रहेको बताउनुभयो ।

“चलचित्रमा बा र छोराबीचको सम्बन्धमार्फत देखाइएको कथा आफ्नै घर, गाउँ वा समाजमा देखेजस्तो लाग्छ । दर्शकले नै यो चलचित्र हेर्न अन्यलाई सिफारिस गर्नुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक आचार्यले भन्नुभयो ।
अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण अहिलेको सामाजिक यथार्थको चित्रण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो चलचित्रमा निर्वाह गरेको भूमिका कमै प्रस्ताव आएका छन् । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको थिएँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”

चलचित्रमा अभिनेता शाहसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गर्नुभएको छ ।