बेन चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा
काठमाडौँ, १५ कात्तिक । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चाल्र्सवर्थलाई लिएको छ । देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने यी २४ वर्षे अलराउन्डर ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ ।
चाल्र्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी निरन्तर सोहि टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औषतमा २७५४ रन बनाइसकेका छन्, जसमा ४ शतक र १५ अर्धशतक छ । सोक्रममा उनले ३० विकेट पनि लिएका छन् ।
चाल्र्सवर्थले २८ लिष्ट ‘ए’ खेलमा १ हजार रनको आंकडा छुनेक्रममा छन् । ट्वान्टी–२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित ७७६ रन बनाइसकेका छन् । उनले १४५ माथिको स्ट्राइक रेटमा यो रन बनाएका हुन् । उनले खेलेका ट्वान्टी २० का सवै खेल भाइटालिटी ब्लास्टको हो ।
इंग्ल्यान्डबाट यू–१९ मा प्रतिनिधित्व गरिसकेका चाल्र्सवर्थ गत सिजनको यूएईको आईएल टी २० मा एमआई इमिरेट्सको टोलीमा रहेका थिए ।