बिपी राजमार्ग तीन दिनपछि सञ्चालन

काभ्रेपलाञ्चोक, १६ कात्तिक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकको चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरो र लेदोका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इन्जिनियर सुमन योगेशका अनुसार अवरोध हटाइनुका साथै लेदो बगेको स्थानमा डाइभर्सन बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । रोशी गाउँपालिका-८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन निर्माणपछि राजमार्ग खुलेको उहाँले जानकारी दिनुभयो ।

सुक्खा पहिरोका कारण डाइभर्सन र अवरोध हटाउन केही समस्या भएको इन्जिनियर योगेशले बताउनुभयो । यस्तै, रोशी-१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन सकिएको थिएन । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो ।

कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा-नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो ।
बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।