एमालेको ११ औँ महाधिवेशन भृकुटीमण्डपमा हुने
काठमाडौं, १७ कात्तिक । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । उद्घाटन भने सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको छ ।
एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौं महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएकाे थियाे ।
एमालेकाे ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने भनिएपनि शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सच्याउँदै सोही मितिमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनस्थल भृकुटीमण्डप रोजिएको छ भने उद्घाटनका लागि खुलामञ्च रोजिएको छ । खुलामञ्चमा प्राविधिक कारणले गर्न नसकिए अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।
भृकुटीमण्डपको चौर र कभर्ड हल प्राप्तिका लागि एमाले केन्द्रीय कार्यालयले भृकुटीमण्डप व्यवस्थापन समितिलाई आज पत्राचार गर्ने र शुल्क पनि बुझाइने पोखरेलको सचिवालयले जनाएकाे छ ।