सेन्सर बोर्डले सोध्यो, ‘जेरी अन टप’ लाई स्पष्टीकरण
काठमाडौँ, कार्तिक १९ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन नियम उल्लंघन गरेको भन्दै फिल्म ‘जेरी अन टप’ लाई स्पष्टीकरण सोधेको छ भने अर्को फिल्म ‘कोशेढुंगा’ को सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ । समितिका अनुसार, फिल्म ‘जेरी अन टप’ विरुद्ध केही गुनासो आएपछि अनुगमन गर्दा प्रदर्शन नियम पालना नगरिएको पाइएको हो । समिति सदस्य तथा अनुगमन समिति संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो कि फिल्ममा मदिराजन्य पदार्थ प्रयोग गर्दा र जुवातास खेलेका दृश्यमा अनिवार्य सन्देश नलेखिएको पाइएको छ। यस्तै, केही अपशब्द प्रयोग गरिएका संवादमा ‘म्युट’ नगरिएको पनि अनुगमनका क्रममा भेटिएको श्रेष्ठले बताउनुभयो ।
उहाँले सेतोपाटीसँग भन्नुभयो, “सेन्सरका लागि फिल्म आउँदा ती संवाद थिएनन्। हामीले सोध्दा यही नै हो भन्नुभयो । सेन्सर प्रमाणपत्र दिने क्रममा संवाद नभएको ठाउँमा पछि संवाद नराख्नुहोला भनिएको थियो, तर अनुगमनमा जाँदा संवादमा छाडा शब्द प्रयोग गरेको पाइयो ।”
मंगलबार बसेको समितिको बैठकले फिल्मको टिमलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्दै पत्राचार गरेको छ। सम्बन्धित पक्षबाट चित्तबुझ्दो जवाफ नआए कानुनी प्रक्रियामा अघि बढ्ने श्रेष्ठले बताउनुभयो ।
‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय
यसैबीच, सेन्सर बोर्डले फिल्म ‘कोशेढुंगा’ को सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ। यो फिल्मले पनि प्रदर्शन नियम उल्लंघन गरेको पाइएको बोर्डले जनाएको छ । मंगलबार बसेको सेन्सर बोर्डको बैठकले उक्त फिल्मको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा पत्राचार गर्ने निर्णय गरेको हो ।
यो फिल्मले समितिले दिएको निर्देशन अटेर गरी फिल्म प्रदर्शन गरिएको, अनुगमनपछि स्पष्टीकरण सोधिएको र त्यसको बेवास्ता गरिएपछि प्रदर्शन रोक्ने निर्णय भएको हो ।