काठमाडौँ महानगरपालिकाको अनुगमन संयन्त्र

‘प्रक्रियामुखी होइन, नतिजामुखी अनुगमन गर्दैछौँ ’ – उपप्रमुख डंगोल

काठमाडौँ, कार्तिक २० । काठमाडौं महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन समितिले महानगरपालिकाका विभिन्न विभाग, सचिवालय, आयोग, एकाइ र वडा कार्यालयहरूलाई २०८२ असोज मसान्तसम्मको प्रगति विवरण कार्तिक मसान्तसम्म पेश गर्न निर्देशन दिएको छ । उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

बैठकले वार्षिक बजेट, योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रयोग गरिने सूचकसहितको फाराम पनि स्वीकृत गरेको छ। उपप्रमुख डंगोलले योजना कार्यान्वयनको हरेक चरण (पूर्व-अवस्था, कार्यान्वयन र सम्पन्नपछिको अवस्था) बाट अनुगमन गरिने बताउनुभयो, जसले गर्दा नतिजामूलक अनुगमन हुनेछ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रशासनिक संयन्त्रबाट भइरहेका कामको नियमित निगरानी गरिरहेको जानकारी दिनुभयो ।

बैठकमा निर्माण कार्य सुरु गर्नुअघि निर्माण सामग्रीको अनुमति, कार्य तालिका अनुसारको काम, कार्यतालिका परिवर्तनको औचित्य विश्लेषण, श्रम सम्बन्धी सर्त तथा बन्देज, पैदलयात्रीसहित उपभोक्ताप्रतिका दायित्व र निर्माण कार्य सकिएपछिको निश्चित समयमा हुने क्षतिको दायित्व निर्माण पक्षमा रहने विषयमा पनि छलफल भएको थियो ।

समितिका सदस्य सचिव गंगाधर गौत्तमले अनुगमन फाराममा राखिएका सूचकहरूको प्रस्तुति गर्नुभएको थियो।

अनुगमन टोलीहरू गठन

यस वर्ष स्वीकृत बजेट, योजना तथा कार्यक्रमहरूको अनुगमन गर्न सहरी योजना आयोगका सदस्यहरूको संयोजकत्वमा ३ वटा टोली गठन गरिएका छन् ।

डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास अनुगमन टोली: यस टोलीलाई प्रशासन, सामाजिक विकास, स्वास्थ्य, सहरी व्यवस्थापन, कृषि तथा पशुपन्छी, सम्पदा तथा पर्यटन (पूर्वाधार निर्माणबाहेक), सूचना प्रविधि विभाग, सहरी योजना आयोग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ र वडा नम्बर १ देखि ७ सम्मका वडा कार्यालयहरूको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

आर्टिटेक्ट बाबुराम भट्टराईको संयोजकत्वमा सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोली: यस टोलीले सम्पदा तथा पर्यटन, सार्वजनिक निर्माण विभाग र वडा नम्बर ८ देखि २० सम्मका वडा कार्यालयहरूले गरेका कामको अनुगमन गर्नेछ।

प्रसुनरत्न बज्राचार्यको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली: यस टोलीलाई वातावरण र विपद व्यवस्थापन विभाग, उद्यान तथा हरियाली प्रवर्धन आयोजना र वडा नम्बर २१ देखि ३२ सम्मको अनुगमन गर्ने दायित्व दिइएको छ ।