निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
काठमाडौँ, २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटिभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सुसूचित गराउने कर्तव्यबाट च्युत हुन नहुने बताउनुभयो । “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।”
स्वतन्त्र स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उल्लेख गर्दै राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्मअनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात् हुने विश्वास व्यक्त गर्नुभयो ।
सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो भन्दै उहाँले केही समययता गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको वर्तमान परिप्रेक्ष्यमा प्रविधिको दुरुपयोग गरेर जनतालाई दिग्भ्रमित पार्न सक्ने जोखिमबाट जोगाउनु आमसञ्चारमाध्यमको दायित्व भएको स्मरण गराउनुभयो ।
कार्यक्रममा राष्ट्रपतिले ‘एनटिभी वल्र्ड’को शुभारम्भ गर्नुभयो । त्यसअवसरमा पिएसबीको लोगो र ‘मोबाइल एप’ सार्वजनिक गरिएको थियो ।