दाङमा मौरीपालन व्यवसाय फस्टाउँदै: वार्षिक लाखौं आम्दानी गर्दै किसान

दाङ, ३० कात्तिक। दाङ जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। यहाँको हावापानी मौरीपालनका लागि उपयुक्त भएकाले यो व्यवसायमा संलग्न हुने किसानहरूको आकर्षण बढेको हो।

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती, जो १७ वर्षदेखि मौरीको स्याहारमा व्यस्त छन्, यसका एक उदाहरण हुन्। “सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ,” ५८ वर्षीय घर्तीले भने, “यसमा घरपरिवारको पनि साथ र सहयोग छ।” उनले घोराही–१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन्।

घर्तीको मौरीफार्ममा अहिले १५० मौरीसहितका घार छन्। उनले यस व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन्, वार्षिक सात टन मह उत्पादन हुने गरेको बताउँछन्। “परिवारको पनि सहयोग छ, आफैँले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिक रूपमा मौरीपालनमा लागेको हुँ,” घर्तीले भने, “अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन, धेरैजसोले घरबाटै लग्ने गरेका छन्। वैदेशिक रोजगारबाट फर्किएपछि यहीँ व्यवसाय सुरु गरेको हुँ, धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ, आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ।” मौरीपालन व्यवसायबाट वार्षिक १६ लाखको कारोबार गर्ने घर्तीले ७ लाख बचत गर्ने गरेको बताउनुभयो। उहाँले एक किलो मह ५०० रुपैयाँका दरले बिक्री गर्दै आएका छन्।

घर्तीजस्तै ६० वर्षीय दीपकुमार मगरको दैनिकी पनि विगत दुई दशकदेखि मौरीपालन र मौरीको हेरचाहमै बित्ने गरेको छ। घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर निवासी मगर २६ वर्षदेखि यही व्यवसायमा संलग्न छन्। “मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको छ,” मगरले भने। उनले मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत छिमेकी जिल्ला रोल्पा, सल्यान, प्युठानलगायतका जिल्लामा समेत आधुनिक प्रकारका सामग्री पठाउने गरेका छन्।

मगरको मौरीफार्ममा २०० घार क्षमता भए पनि हाल १०० मौरीसहितका घार छन्। उनले वार्षिक ३५ क्विन्टल मह उत्पादन हुने गरेको बताउँछन्। वर्षा र अत्यधिक चिसोको समयमा ख्याल गर्न सके मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने उनको भनाइ छ।

यसैगरी, घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पतीले पनि मह बिक्री गरेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। विगत डेढ दशकदेखि मौरीपालनमा संलग्न यो दम्पतीले गिठेपानीमै १०५ घारभन्दा बढी माहुरी पालेर वार्षिक करिब १३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङ जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या ५०० भन्दा बढी पुगिसकेको छ।