कुमारी घरको तोरण पुनःस्थापना गर्ने निर्णय : सम्पदा पुनरुत्थानमा काठमाडौँका उपप्रमुखको नेतृत्वले गति लिँदै
काठमाडौँ, मंसिर १ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको निवासस्थल, कुमारी बहालबाट वि.सं. २०५६ सालतिर चोरी भएको तोरण मंसिर ५ गते पुनःस्थापना गरिने भएको छ । संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाएर नेपाल फिर्ता गरिसकेपछि राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको उक्त तोरणलाई अब त्यसकै मौलिक स्थानमा फर्काउने निर्णय भएको हो ।
आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलज्यूको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरूको बैठकले थिंलाथ्व पारु (नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन) मा वडा नम्बर २३ कार्यालयको संयोजन तथा सरोकारवाला र समुदायसँगको समन्वयमा तोरण पुनःस्थापना गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रमुख डंगोलज्यूले पूर्खाका सिर्जना समुदायमा असुरक्षित हुने भन्दै संग्रहालयमा राख्न नहुने बरु समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘महानगरपालिकाभित्रका मठमन्दिर, विहार, बहाल तथा अन्य सम्पदा स्थलहरूबाट चोरिएका धेरै कलाकृतिको पहिचान गरेका छौँ । ती कलाकृतिहरूलाई सम्बन्धित वडाको अगुवाइमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ ।’ उहाँले कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्ने र अहिले समुदाय सचेत तथा सक्रिय रहेको बताउनुभयो । साथै, सुरक्षाका लागि आधुनिक प्रविधि उपलब्ध भएको र वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा नरहेकाले तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु नपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनज्यूले कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राख्नुभयो ।
कुमारी घरका संरक्षक गौत्तम शाक्यज्यूका अनुसार वि.सं. २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरी भएको थियो । चोरले मर्मत गर्न लगेको भन्दै झुक्याएको उहाँले बताउनुभयो । तीन महिनाभित्र तीनवटै तोरण हराएपछि पुरातत्व विभाग र नेपाल प्रहरीमा जानकारी गराइएको थियो । तोरण हराएपछि करिब तीन वर्षपछि प्रतिकृति तोरण बनाएर स्थापना गरिएको र त्यसका लागि प्रतिगोटा ८० हजार रुपियाँ खर्च भएको शाक्यज्यूले जानकारी दिनुभयो ।
सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठज्यूले तोरण पुनःस्थापनाले कुमारी घरको प्राचीनतामा टेवा पुग्ने भन्दै यस कार्यमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको बताउनुभयो । अभियन्ता सञ्जय अधिकारीज्यूले कूटनीतिक पहलबाट तोरण फिर्ता गरिएको अनुभव सुनाउँदै मूर्ति हराउनु र मन्दिर भत्किनुले समुदायमा सम्पदा संरक्षण प्रणालीमा समस्या रहेको बुझेर स्थानीय सरकारले संरक्षणका कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
कुमारी बहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख) बेलायतका लागि नेपालको दूताबासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो ।
हराएका र चोरी भएका कलाकृति तथा मूर्तिहरू फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गरिन्छ । यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् ।
प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रूपमा ग्रहण गरिन्छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि.सं. १८१४) मा निर्माण भएको हो ।