बन्दुकधारी समूहद्वारा नाइजेरियामा २५ छात्रा अपहरण
काठमाडौँ, मंसिर १ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा सोमबार बिहान एक आपराधिक गिरोहका बन्दुकधारीले माध्यमिक विद्यालयमा छापा मारी २५ जना छात्रालाई अपहरण गरेका छन्। यस आक्रमणका क्रममा एक विद्यालय कर्मचारीको हत्या भएको छ । यो घटना अशान्त उत्तरपूर्वी क्षेत्रको चिबोकबाट करिब ३०० बालिकाहरू अपहरण भएको र अन्तर्राष्ट्रिय आक्रोश मच्चिएको एक दशकभन्दा बढी समयपछि भएको हो । त्यसबेलादेखि विद्यालयका बच्चाहरूलाई संलग्न गरिएका अन्य अपहरणका शृङ्खलाहरू पनि सार्वजनिक भएका छन् ।
प्रहरीले सोमबार जनाएअनुसार अत्याधुनिक हतियारले सुसज्जित समूहले स्थानीय समयअनुसार बिहान ४ः०० बजे केब्बी राज्यको सरकारी ‘गल्र्स कम्प्रिहेन्सिभ सेकेन्डरी स्कूल’मा छिटपुट गोली चलाउँदै आक्रमण गरेको थियो ।
घटनापश्चात, प्रहरीलाई तत्कालै तैनाथ गरिएको थियो तर दुर्भाग्यवश, अपहरणकारीहरूले विद्यालयको बार नाघेर २५ जना विद्यार्थीहरूलाई उनीहरूको छात्रावासबाट अज्ञात गन्तव्यमा लगेका थिए। संयुक्त राष्ट्रसङ्घका लागि तयार पारिएको एक प्रतिवेदनमा उक्त विद्यालयका उपप्रमुखको गोली लागेर मृत्यु भएको उल्लेख छ भने एक जना सुरक्षा गार्ड घाइते भएका छन् ।
अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्न र गिरोहहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सेना, प्रहरी सामरिक एकाइहरू र स्थानीय सहयोगी लडाकूहरू त्यस क्षेत्रमा तैनाथ गरिएको छ र उनीहरूले हाल लुटेराहरूको मार्ग र नजिकैको जङ्गलमा खोजी गरिरहेका छन्।
नाइजेरियाको उत्तरपश्चिममा वर्षौँदेखि ‘डाकु’ भनेर चिनिने भारी सशस्त्र आपराधिक गिरोहहरूको वृद्धि भइरहेको छ। उनीहरूले गाईवस्तु चोर्ने, गाउँहरूमा छापा मार्ने, बासिन्दाहरूलाई अपहरण गर्ने र हत्या गर्ने तथा घरहरूमा लुटपाट मच्चाउने र आगजनी गर्ने गरेको पाइन्छ। नाइजेरियाको उत्तरपश्चिम क्षेत्र अपहरणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ ।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरिया सन् २००९ मा देशको उत्तरपूर्वी चाड बेसिनमा बोको हराम समूहको उदयपछि सशस्त्र हिंसाबाट ग्रस्त छ ।
सन् २०१४ को अप्रिल १४ मा चिबोक शहरबाट २७६ जना स्कुले छात्राको अपहरण भएको घटना विश्वभर चर्चामा आएको थियो । बन्धकमध्ये १०० जना अझै बेपत्ता छन् । गत वर्षको मार्चमा अर्को उत्तरपश्चिमी राज्य कडुनाको कुरिगामा बन्दुकधारीले १३० भन्दा बढी स्कुले बालबालिकालाई अपहरण गरेका थिए । पछि उनीहरूलाई सकुशल रिहा गरिएको थियो।
नाइजेरियामा अपहरणको तथ्याङ्क मुख्य रूपमा यथार्थभन्दा कम सार्वजनिक गरिने गरेकोले अविश्वसनीय मानिन्छ। सेभ द चिल्ड्रेनको गत वर्ष सार्वजनिक एक रिपोर्टअनुसार नाइजेरियाका स्कूलहरूमा सन् २०१४ को सुरुदेखि सन् २०२२ को अन्त्यसम्म एक हजार ६८० भन्दा बढी विद्यार्थीहरू अपहरण गरिएको थियो । देश धेरै मोर्चामा सुरक्षा चुनौतीहरूसँग जुझिरहेको बेला, बन्धक बनाउने कार्य राष्ट्रव्यापी बनेको र डाँकु गिरोह तथा जिहादीहरूको मनपर्ने रणनीति बनेको छ।
