अमेरिकी हवाई उडानहरू सामान्य अवस्थामा फर्कँदै, उड्डयन प्राधिकरणले प्रतिबन्ध हटायो
वाशिङ्गटन । सरकारी कामकाज ठप्प हुँदा लगाइएको प्रतिबन्ध हटेसँगै संयुक्त राज्य अमेरिकाका हवाई उडानहरू सामान्य अवस्थामा फर्कने भएका छन्। देशको उड्डयन प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि उडानसम्बन्धी आपत्कालीन आदेश हटाइएको घोषणा गरेको हो।
संघीय उड्डयन प्रशासन (FAA) का अनुसार, सोमबार पूर्वीय समय बिहान ६ बजे (नेपाली समय सोमबार दिउँसो ४:४५) देखि एयरलाइन्सहरूले आफ्नो नियमित तालिकाअनुसार उडान सञ्चालन गर्न सक्नेछन्।
सरकारी कामकाज ठप्प भएको बेला हवाई यातायात नियन्त्रकहरू (Air Traffic Controllers) मा देखिएको थकान र कतिपय काममा नआउने समस्याका कारण FAA ले सुरक्षा सुनिश्चित गर्न ४० प्रमुख विमानस्थलमा उडान कटौतीको आदेश दिएको थियो। यो प्रतिबन्धका कारण हजारौं उडानहरू रद्द भएका थिए भने अनगिन्ती उडानहरूमा ढिलाइ भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार सरकारी कोष सुचारु गर्ने र ६ हप्ता लामो गतिरोध अन्त्य गर्ने विधेयकमा हस्ताक्षर गरेपछि यो अवस्था सामान्य बन्न लागेको हो।
FAA का प्रशासक ब्रायन बेडफोर्डले “कर्मचारीको अभावसम्बन्धी चिन्तामा निरन्तर कमी आएकाले” प्रतिबन्ध हटाउने निर्णय लिइएको बताए। प्राधिकरणका अनुसार, हवाई नियन्त्रकहरूको संख्या सुरक्षित स्तरभन्दा तल झर्ने घटनाहरू (Staffing Triggers) नोभेम्बर ८ मा ८१ पटक भएकोमा घटेर शुक्रबार ६, शनिबार ८ र आइतबार केवल एक पटकमा सीमित भएको थियो।
यसैबीच, FAA ले प्रतिबन्धको समयमा केही एयरलाइन्सहरूले आदेशको पूर्ण पालना नगरेको रिपोर्ट आएपछि “कारबाहीका विकल्पहरूमाथि समीक्षा गरिरहेको” जनाएको छ। उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइटअवेयर’ का अनुसार, आइतबार केवल १४९ उडानहरू मात्र रद्द भएका थिए, जुन FAA द्वारा तोकिएको ३ प्रतिशतको अनिवार्य कटौतीभन्दा निकै कम हो।