फ्लाईदुबईद्वारा १३ अर्ब डलरको विमान खरिद सम्झौता: बोइङसँग ७५ वटा ‘७३७ म्याक्स’ विमान किन्ने घोषणा
काठमाडौँ, मंसिर ३ । संयुक्त अरब इमिरेट्स (युएई) को कम लागतको वायुसेवा कम्पनी ‘फ्लाईदुबई’ ले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ठूलो व्यापारिक सम्झौता गरेको छ। कम्पनीले बुधबार १३ अर्ब अमेरिकी डलर (करिब साढे १७ खर्ब नेपाली रुपैयाँ) लगानीमा ७५ वटा ‘७३७ म्याक्स’ विमान खरिद गर्ने घोषणा गरेको हो।
दुबईमा जारी प्रतिष्ठित ‘दुबई एयरशो’ का क्रममा फ्लाईदुबई र बोइङका अधिकारीहरू बिच यस सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार फ्लाईदुबईले ७५ वटा बोइङ ७३७ म्याक्स विमान तत्काल खरिद गर्ने पक्का गरेको छ भने थप ७५ वटा विमान भविष्यमा खरिद गर्न सकिने विकल्प (अप्सन) पनि सुरक्षित राखेको छ। यो सम्झौतासँगै फ्लाईदुबईले आफ्नो सेवा विस्तारलाई आक्रामक रूपमा अघि बढाउने रणनीति लिएको स्पष्ट भएको छ।
फ्लाईदुबईले पछिल्ला दुई दिनमा मात्रै विश्वका दुई ठूला विमान निर्माता कम्पनी बोइङ र एयरबससँग गरी २०० भन्दा बढी नयाँ विमान खरिदका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ।
बोइङसँगको सम्झौता अघि, मङ्गलबार मात्रै कम्पनीले युरोपेली निर्माता एयरबससँग २४ अर्ब डलर मूल्य बराबरका १५० वटा ‘ए३२१ नियो’ जेट विमान खरिद गर्ने घोषणा गरेको थियो। यी विमानहरू सन् २०३१ देखि डेलिभरी हुन थाल्नेछन्। स्मरण रहोस्, फ्लाईदुबईले हाल पहिले नै ९० भन्दा बढी बोइङ ७३७ सिरिजका विमानहरू सञ्चालन गरिरहेको छ।
फ्लाईदुबईका अध्यक्ष शेख अहमद बिन सईद अल मकतूमले सम्झौताबारे बोल्दै भन्नुभयो, “हाम्रो उद्योगको निरन्तर वृद्धिका लागि भरपर्दो विमानको उपलब्धता र समयमै डेलिभरी हुनु अत्यन्त महत्त्वपूर्ण छ। यो सम्झौताले हामी भविष्यको विकास र विस्तारका लागि बलियो स्थितिमा रहेको सुनिश्चित गर्दछ।”
यो सम्झौता अमेरिकी विमान निर्माता कम्पनी बोइङका लागि ठूलो राहत र प्रोत्साहन बनेको छ। पछिल्लो समय बोइङले ७३७ म्याक्सका दुर्घटना, अदालती मुद्दा, प्रतिरक्षा शाखामा हडताल र डेलिभरीमा ढिलाइजस्ता अनेकौं चुनौतीहरूको सामना गरिरहेको थियो।
गत महिना मात्रै बोइङले तेस्रो त्रैमासिकमा ५.४ अर्ब डलर घाटा व्यहोरेको रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा ७७७-एक्स विमानको प्रमाणीकरणमा भएको ढिलाइले लागत बढाएको थियो। यस्तो विषम परिस्थितिमा फ्लाईदुबईबाट प्राप्त यो ठूलो अर्डरले कम्पनीलाई आर्थिक रूपमा ठूलो टेवा पुर्याउने देखिन्छ।
विमान खरिदका अलावा, फ्लाईदुबईले आफ्ना यात्रुहरूलाई उडानका क्रममा अत्याधुनिक इन्टरनेट सेवा प्रदान गर्न एलन मस्कको ‘स्पेसएक्स’ सँग स्टारलिङ्क स्याटेलाइट प्रविधि प्रयोग गर्ने सम्झौता पनि गरेको छ। यसअघि फ्लाईदुबईको भगिनी संस्था (सिस्टर एयरलाइन्स) मानिने इमिरेट्सले पनि यस्तै प्रविधि प्रयोग गर्ने बताएको थियो।
यसअघि सोमबार मात्रै इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो यस एयर शोमा ३८ अर्ब डलरको लगानीमा ६५ वटा बोइङ जेट खरिद गर्ने सम्झौता गरिसकेको छ।
