विश्वको आधा जनसङ्ख्या सहरमा केन्द्रीत : राष्ट्रसङ्घको ‘विश्व सहरीकरण प्रतिवेदन’ सार्वजनिक
काठमाडौँ, मंसिर ३ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको एक महत्त्वपूर्ण प्रतिवेदनले विश्वको जनसाङ्ख्यिक संरचना र बसोबासको शैलीमा ठूलो बदलाव आएको देखाएको छ । ‘विश्व सहरीकरण प्रतिवेदन-२०२५’अनुसार, हाल विश्वको कुल ८ अर्ब २० करोड जनसङ्ख्यामध्ये करिब आधा हिस्सा सहरमा बसोबास गर्छन् ।
विगत सात दशकयता विश्व तीव्र गतिमा सहरीकरणतर्फ उन्मुख भइरहेको प्रतिवेदनले औँल्याएको छ । तथ्याङ्क अनुसार, सन् १९५० मा विश्वको कुल जनसङ्ख्याको जम्मा २० प्रतिशत मानिस मात्र सहरमा बस्थे । तर, सन् २०२५ सम्म आइपुग्दा यो दर बढेर ४५ प्रतिशत पुगेको छ ।
प्रतिवेदनले ठूला सहरको सङ्ख्यामा भएको वृद्धिलाई विशेष प्राथमिकताका साथ उल्लेख गरेको छ । सन् १९७५ मा १० लाखभन्दा बढी जनसङ्ख्या भएका ‘विशाल सहर’ विश्वभर जम्मा आठवटा मात्र थिए । तर, सन् २०२५ मा आइपुग्दा यस्ता सहरको सङ्ख्या बढेर ३३ पुगेको छ । विशेष चासोको विषय के छ भने, यी ३३ ठूला सहरमध्ये १९ वटा सहर एसिया महादेशमा मात्रै पर्दछन् ।
प्रतिवेदनमा इन्डोनेसियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै जनघनत्व भएको बस्तीमध्ये एक मानिएको छ, जहाँ ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन् । राष्ट्रसङ्घले सन् २०५० सम्ममा विश्वमा १० लाखभन्दा बढी जनसङ्ख्या भएका सहरहरूको सङ्ख्या ३७ पुग्ने प्रक्षेपण गरेको छ ।
ठूला सहरहरूको चर्चा धेरै भए पनि वास्तविकतामा धेरै मानिसहरू साना र मध्यम आकारका सहरहरूमा बसोबास गर्ने गरेको पाइएको छ । प्रतिवेदन अनुसार, अध्ययनमा समेटिएका १२ हजार सहरमध्ये ९६ प्रतिशत सहरको जनसङ्ख्या १० लाखभन्दा कम छ । अझ ८१ प्रतिशत सहरमा त २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या रहेको छ ।
ठूला सहरको तुलनामा साना र मध्यम सहरहरू अझ तीव्र गतिमा विस्तार भइरहेको तथ्याङ्कले देखाएको छ । विश्वभरका सहरहरूको सङ्ख्या सन् १९७५ देखि २०२५ सम्ममा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सन् २०५० सम्म यो सङ्ख्या १५ हजारभन्दा माथि पुग्ने र तीमध्ये धेरैजसो सहर २ लाख ५० हजारभन्दा कम जनसङ्ख्या भएका हुने अनुमान गरिएको छ ।
सहरीकरण बढ्दै जाँदा ग्रामीण र साना बस्तीहरूमा बस्ने मानिसको सङ्ख्या भने घट्दो क्रममा छ । सन् १९५० मा साना बस्तीहरूमा बस्ने जनसङ्ख्या ४० प्रतिशत रहेकामा सन् २०२५ मा यो घटेर ३६ प्रतिशतमा सीमित भएको छ । अझ ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको हिस्सा त झरेर जम्मा १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
कुनै समय विश्वका अधिकांश देशमा ग्रामीण बस्ती नै प्रमुख बसोबासको प्रकार थियो । सन् १९७५ मा ११६ देशमा ग्रामीण बस्ती मुख्य प्रकारका रूपमा रहेकामा अहिले त्यो सङ्ख्या घटेर ६२ देशमा सीमित भएको छ । हाल ७१ देशमा ५ हजारभन्दा बढी जनसङ्ख्या र पर्याप्त घनत्व भएका बस्तीहरू नै सामान्य बसोबासको प्रकार बनेका छन् ।
प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घका आर्थिक तथा सामाजिक मामिला हेर्ने उप–महासचिव ली जुनह्वाले सहरीकरणलाई वर्तमान युगको ‘निर्णायक शक्ति’ को संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभयो, “सहरीकरणको समावेशी र योजनाबद्ध व्यवस्थापन गर्न सके यसले जलवायु सुरक्षा, तीव्र आर्थिक वृद्धि र सामाजिक समानताको नयाँ बाटो खोल्न सक्छ ।” उहाँले अब प्रत्येक राष्ट्रले आवास, भू–व्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई सहर र गाउँ दुवै क्षेत्रमा सन्तुलित रूपमा विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
