नेपालभाषा मंकाः खलः यलले नयाँ नेतृत्व चयन गर्ने

ललितपुर ४ मङ्सिर । भाषा, कला, साहित्य, संस्कृति, सम्पदा, रितिरिवाज, जात्रा पर्व लगायत धार्मिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएको ललितपुर जिल्लाको भाषिक संगठन नेपालभाषा मंकाः खलः यलको नयाँ नेतृत्व चयन मङ्सिर ६ गते हुने भएको छ ।

सहसचिब राजु ताम्राकारका अनुसार नेपालभाषा मंकाः खलः यलले तिन बर्षीय कार्यकाल पूरा गर्दै नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भएको जानकारी गराएका छन् । निर्वाचन मण्डलमा पूर्व अध्यक्ष किरण शाक्य प्रमुख तथा शुरेश प्रधान, सुरजबीर बज्राचार्य, धर्मकृष्ण सिकमी र गोविन्द महर्जन ‘ज्यापु’ सदस्य रहेका छन् ।

नेपालभाषा मंकाः खलः यलका कूल १२४४ सदस्यहरू नयाँ नेतृत्वका लागि निर्वाचनमा सहभागी हुनेछन्। एक अध्यक्ष, दुई अनिवार्य महिला सदस्य र नौ जना खुल्ला सदस्य सहित १२ पदका लागि मतदान हुने राजु ताम्राकाले जनाए ।

एक जना निर्वाचित हुने अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष बाबुराजा महर्जन र सचिव महेन्द्रलाल महर्जनको उम्मेदवारी दर्ता भएको छ । अनिवार्य दुई महिला सदस्यहरूमा हाल कार्यसमिति सदस्य फरिन्दा महर्जन, रमना महर्जन बज्राचार्यले पुनः उम्मेदवारी दर्ता गरेका छन् भने नयाँ अनुहारका रूपमा नानी हिरा शाक्य र मञ्जु बज्राचार्यले चुनौती पेश गरेका छन् ।

कार्यसमितिको जम्मा ९ जना खुल्ला सदस्य पदका लागि १८ जना सदस्यहरूबीच प्रतिस्पर्धा हुने भएका छन्। मंकाः खलःको विधान बमोजिम विजयी सदस्यहरुवाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष एक एकजनाले पद प्रतिष्थापन गर्नेछन् ।

यस अघि नेपालभाषा मंकाः खलःका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा गत शनिबार संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आफ्नो कार्यकाल समाप्त गरेको थियो ।

वरिष्ठ साहित्यकार एवं नेपालभाषा एकेडेमीका संरक्षक यज्ञ रत्न धाख्वाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा बाग्मती प्रदेशका पूर्वमन्त्री मा. रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।