आगामी निर्वाचनलाई गम्भीरतापूर्वक लिन ओलीको निर्देशन, स्थानीय तहमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह
काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएकाे छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर संगठन निर्माणमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे हाे ।
उहाँले आगामी निर्वाचनहरू विगतका निर्वाचनभन्दा पनि बढी रणनीतिक महत्वका हुनेपनि कार्यक्रममा बताउनुभयाे । उहाँले स्थानीय तहको निर्वाचनलाई स्थानीय सरकार गठनमा मात्र सीमित गरेर हेर्न नहुने उल्लेख गर्दै त्यसको परिणाम राष्ट्रियसभा निर्वाचनसँग समेत जोडिने बताउनुभयाे । स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय निर्वाचनबाटै राष्ट्रियसभाका लागि मतदाता तयार हुने उहाँको भनाइ थियो।
त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा तथा राष्ट्रपति निर्वाचनलाई समेत प्रभावित पार्ने उहाँले बताउनुभयाे। प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता पनि हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको अध्यक्ष ओलीको भनाइ थियो।
‘स्थानीय तहको निर्वाचन भनेको स्थानीय तहको निर्वाचन मात्रै होइन, त्यो भोलि गएर राष्ट्रियसभाको निर्वाचन पनि हो। स्थानीय तहमा प्रमुख, उपप्रमुख जो हुन्छन्, उनीहरूले राष्ट्रियसभामा भोट हाल्ने हो,’ उहाँले भन्नुभयाे।
अध्यक्ष ओलीले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेले विगतका निर्वाचनमा धक्का व्यहोर्नुपरेको पनि बताउनुभयाे । कार्यकर्ताबीच एकता कायम गर्दै संगठनलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिए।
