विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ

काठमाडौं, २८ कात्तिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

आजको खेल विराटनगरका लागि प्लेअफ यात्राको निर्णायक खेल हो। लुम्बिनीलाई पराजित गर्न सके विराटनगरको प्लेअफ सम्भावना कायम रहनेछ भने हार व्यहोरेमा उसको प्रतियोगिताबाट बाहिरिनेछ।

विराटनगर आज जित्नैपर्ने दबाबमा मैदान उत्रिएको छ। यता, लुम्बिनीले भने एक खेलअगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

लुम्बिनीले ६ खेलमध्ये चारमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै ९ अंक जोडेको छ। ऊ अंकतालिकाको दोस्रो स्थानमा छ।

६ खेल खेलेको विराटनगरले तीनमा जित र तीनमा हार व्यहोर्दै ६ अंक जोडेको छ। ऊ तालिकाको पाँचौँ स्थानमा छ।

जारी प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *