अमेरिकी बेरोजगारी दरमा सामान्य वृद्धि : सरकारी बन्द र नीतिगत प्रभावले श्रम बजार सुस्त

काठमाडौँ, मंसिर ४ । लामो समयसम्म चलेको सरकारी कामकाज बन्दपछि बिहीबार ढिलो गरी सार्वजनिक गरिएको मासिक रोजगार प्रतिवेदनले अमेरिकी श्रम बजारमा केही सुस्तता आएको देखाएको छ । प्रतिवेदनअनुसार सेप्टेम्बर महिनामा अमेरिकाको बेरोजगारी दरमा सामान्य वृद्धि भएको छ ।

अमेरिकी श्रम विभागका अनुसार सेप्टेम्बर महिनामा अमेरिकाले १ लाख १९ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भयो । यद्यपि, अघिल्लो वर्षको सेप्टेम्बरमा ४.३ प्रतिशत रहेको बेरोजगारी दर थोरै बढेर ४.४ प्रतिशत पुगेको छ । अगस्ट महिनाको संशोधित तथ्याङ्कले भने श्रम बजारको अवस्था पहिले अनुमान गरिएभन्दा निकै निराशाजनक रहेको देखाएको छ । सुरुमा अगस्ट महिनामा २२ हजार रोजगारी थपिने अपेक्षा गरिएकोमा, संशोधित रिपोर्टले उल्टै ४ हजार रोजगारी गुमेको देखाएको छ ।

बिहीबार सार्वजनिक भएको यो तथ्याङ्कले दुई महिनाभन्दा लामो अन्तरालपछि अमेरिकी श्रम बजारको आधिकारिक अवस्था चित्रण गरेको छ । अमेरिकामा ४३ दिनसम्म चलेको सरकारी बन्दका कारण रोजगारी दरमा प्रत्यक्ष नकारात्मक असर परेको विश्लेषण गरिएको छ ।

यसका साथै, सङ्घीय कामदारहरूको सामूहिक निष्कासन र राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा उच्च कर  लगाउने नीतिका कारण व्यवसायिक क्षेत्रमा उथलपुथल मच्चिएको छ । यी कारणहरूले गर्दा समग्र रोजगार बजार कमजोर बन्दै गइरहेको बताइएको छ ।

यो रोजगार प्रतिवेदन डिसेम्बरमा हुने फेडरल रिजर्भ (अमेरिकी केन्द्रीय बैंक) को नीतिगत बैठकको ठीक अगाडि आएको छ । बैंकका अधिकारीहरूले लगातार तेस्रो पटक ब्याजदर कटौती गर्ने वा नगर्ने भन्ने निर्णय लिन यसै प्रतिवेदनलाई मुख्य आधार मान्नेछन् । केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको भए पनि, कमजोर बन्दै गएको रोजगार बजारले अर्थतन्त्रलाई गति दिनका लागि फेडलाई थप ब्याजदर कटौती गर्न बाध्य पार्न सक्ने सम्भावना बढेको छ ।

सेप्टेम्बर महिनामा क्षेत्रगत रूपमा हेर्दा मिश्रित नतिजा देखिएको छ । यातायात, भण्डारण र सङ्घीय सरकार मातहतका निकायहरूमा रोजगारीको सङ्ख्या घटेको छ। सङ्घीय सरकारको रोजगारी अघिल्लो महिनाको तुलनामा ३ हजारले र जनवरीको तुलनामा ९७ हजारले घटेको छ ।

स्वास्थ्य सेवा जस्ता अत्यावश्यक क्षेत्रहरूमा भने सामान्य सुधार देखिएको छ । सेप्टेम्बरमा औसत प्रतिघण्टा आय ०.२ प्रतिशतले बढेर ३६.६७ अमेरिकी डलर पुगेको छ । डाउ जोन्स न्युजवायर र द वाल स्ट्रिट जर्नलका अर्थशास्त्रीहरूले रोजगारी सङ्ख्या ५० हजारले बढ्ने अपेक्षा गरेका थिए, तर नतिजा फरक आयो ।

एलियान्ज ट्रेड नर्थ अमेरिकाका वरिष्ठ अर्थशास्त्री डान नर्थले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “बिहीबारको रिपोर्ट आउन महिनौं ढिलो भए पनि यसले हामीलाई अर्थतन्त्रमा हालसालै के भइरहेको छ भन्ने स्पष्ट जानकारी दिएको छ ।” उहाँका अनुसार सरकारी बन्दले मुद्रास्फीतिदेखि खुद्रा बिक्रीसम्मका तथ्याङ्क गणनामा अवरोध पुर्‍याएको थियो । रोजगारी दरमा केही कमी देखिए पनि आधिकारिक तथ्याङ्क आउनुले बजारमा अन्योल हटाइ सकारात्मक भाव पैदा गर्ने उहाँको विश्लेषण छ ।

श्रम मन्त्रालयले सरकारी बन्दका कारण केही सर्वेक्षण तथ्याङ्क सङ्कलनमा असर परेको जनाएको छ। यसै कारणले गर्दा अक्टोबरको पूर्ण रोजगार रिपोर्ट छुट्टै जारी गरिने छैन । उपलब्ध तथ्याङ्कलाई नोभेम्बरको तथ्याङ्कसँग गाभेर मूल्याङ्कन गरिनेछ । मन्त्रालयका अनुसार सन् २०२५ को नोभेम्बरको तथ्याङ्क सङ्कलन अवधि विस्तार गर्न थप समय लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *