पूर्वी कङ्गोमा ८९ सर्वसाधारणको हत्या : अस्पतालमै जलाइए बिरामी
काठमाडौँ, मंसिर ५ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआर कङ्गो) को पूर्वी क्षेत्रमा इस्लामिक विद्रोहीहरूले एक सातासम्म मच्चाएको हिंसात्मक ताण्डवमा ८९ जना सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मोनुस्को) ले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा प्रसूति वार्डमा उपचाररत महिला र बालबालिकासमेत छन्।
इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एलाइड डेमोक्रेटिक फोर्सेज (एडीएफ) नामक विद्रोही समूहले उत्तरी किभु प्रान्तको लुबेरो क्षेत्रमा नोभेम्बर १३ देखि १९ को बीचमा यी शृङ्खलाबद्ध आक्रमण गरेको हो । राष्ट्रसङ्घका अनुसार विद्रोहीहरूले बापेरे र बास्वाघा क्षेत्रमा अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा २० महिला र बालबालिका मारिएका छन् ।
सबैभन्दा क्रूर घटना लुबेरोबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ब्याम्ब्वेमा भएको छ। त्यहाँ रहेको क्याथोलिक चर्चद्वारा सञ्चालित स्वास्थ्य केन्द्रमा विद्रोहीले आक्रमण गरी १७ जनाको हत्या गरेका छन् । आक्रमणकारीले बिरामीहरू सुत्ने चारवटा वार्डमा आगो लगाइदिएका थिए ।
मोनुस्कोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एडीएफले विशेष गरी घातक आक्रमण गरेको छ । उनीहरूले हत्या मात्र होइन, सर्वसाधारणको अपहरण, औषधि र चिकित्सा सामग्रीको लुटपाट, घरहरूमा आगजनी र भौतिक सम्पत्तिको विनाश गरेका छन् ।” यसअघि एएफपी र स्थानीय रेडक्रसले पनि सोही क्षेत्रमा भएको आक्रमणमा ठूलो सङ्ख्यामा हताहती भएको जनाएका थिए ।
कङ्गोको पूर्वी क्षेत्र लामो समयदेखि अस्थिर छ । यहाँ रुवान्डाको समर्थन रहेको भनिने एम-२३ विद्रोही समूहको पनि दबदबा छ । एम–२३ ले उत्तर र दक्षिण किभुका धेरै भूभाग कब्जा गरेको छ ।
एडीएफ विरुद्ध लड्न सन् २०२१ देखि युगान्डाको सेना पनि कङ्गोको सेनासँग मिलेर संयुक्त कारबाहीमा खटिएको छ। तर, घना जङ्गलमा लुकेर ससाना समूहमा आक्रमण गर्ने विद्रोहीलाई रोक्न संयुक्त सेना सफल हुन सकेको छैन । कङ्गोको सरकारी सेना एम-२३ सँगको लडाइँमा बढी केन्द्रित हुँदा एडीएफले त्यसको फाइदा उठाएको विश्लेषकहरूको भनाइ छ । प्रत्येक आक्रमणपछि सुरक्षा फौज घटनास्थलमा ढिलो पुग्ने गरेको भन्दै स्थानीय बासिन्दा र नागरिक समाजले सरकारको आलोचना गरेका छन् ।
