ट्रम्प र सीबीच एपेक सम्मेलनमा भेटवार्ता, त्रिपक्षीय छलफलको तयारी
एजेन्सी, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय भेटवार्ता भएको छ ।
विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीका विषयमा विश्वका दुई ठूला अर्थतन्त्रका नेताबीच भएको यस भेटलाई अमेरिका–चीन सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । पुटिनसँगको भेट सकारात्मक हुने विश्वास व्यक्त गर्दै ट्रम्पले त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताउनुभएको थियो ।
ट्रम्पले अमेरिका, चीन र रुसका तीन नेताबीच साझा हित तथा अन्तर्राष्ट्रिय अवसरका विषयमा छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकप्रति उत्सुकता व्यक्त गर्नुभएको छ । उहाँले यस्तो भेटलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिनुभएको थियो ।
प्रस्तावित त्रिपक्षीय बैठकमा आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो । भेटका क्रममा दुवै नेताले चीन–रुस सम्बन्ध थप सुदृढ बनाउने र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।
सीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद चीन र रुसबीचको सम्बन्ध पहाडझैँ अडिग रहेको बताउनुभएको थियो । त्यस्तै, पुटिनले चुनौतीपूर्ण विश्व परिस्थितिमा पनि दुई देशबीचको राजनीतिक सहकार्य रचनात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभएको थियो ।
प्रस्तावित त्रिपक्षीय छलफललाई आणविक हतियार नियन्त्रणका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रियस्तरमा हतियार नियन्त्रणको विषयले पुनः प्राथमिकता पाएको छ ।
अमेरिकाले चीनलाई पनि आणविक हतियार कटौतीसम्बन्धी व्यापक वार्तामा सहभागी गराउन चाहेको छ । तर चीनले अमेरिका र रुससँग आफ्नो तुलनामा निकै ठूलो आणविक हतियार भण्डार रहेको तर्क गर्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।
तीन शक्तिराष्ट्रका नेताबीच प्रस्तावित भेटवार्ता कार्यान्वयनमा आएमा विश्व व्यापार, सुरक्षा, आणविक हतियार नियन्त्रण र क्षेत्रीय द्वन्द्व व्यवस्थापनका विषयमा नयाँ कूटनीतिक पहलको सम्भावना रहनेछ ।
