सम्पदालाई प्राचीनतामा फर्काउन उपप्रमुखको नेतृत्वबाट नतिजा : बेलायतबाट फर्काइएको कुमारी घरको तोरण पुनःस्थापना
काठमाडौँ, मंसिर ६ । काठमाडौँको ऐतिहासिक वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान (कुमारी घर) बाट चोरी भई बेलायत पुगेको पुरातात्विक तोरण शुक्रबार विधिपूर्वक पुनःस्थापित गरिएको छ । वि.सं. २०५६ सालतिर चोरी भएको उक्त तोरण बेलायतको ‘बाराकाट’ संग्रहालयमा फेला परेपछि कूटनीतिक पहलमार्फत फिर्ता ल्याई राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो ।
शुक्रबार एक विशेष कार्यक्रमबिच महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा गएको टोलीले राष्ट्रिय संग्रहालयबाट तोरण बुझेर कुमारी घरको साविककै स्थानमा प्रतिस्थापन गरेको हो ।
तोरण पुनःस्थापनाका लागि यही मंसिर १ गते उपप्रमुख डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। सोही बमोजिम शुक्रबार उपप्रमुख डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन र कुमारी घरका संरक्षक गौतम शाक्यसहितको टोली छाउनी पुगेको थियो।
पदाधिकारीहरूले तोरण बुझ्ने पत्रमा हस्ताक्षर र औठाछाप लगाई जिम्मा लिएपछि बाजागाजा र स्थानीयको उल्लासमय सहभागितामा तोरणलाई वसन्तपुर ल्याइएको थियो । प्राचीन स्मारक ऐन २०१३ को दफा २० (क) अनुसार स्थानीय तह र प्रशासनको सिफारिसमा गुठियारलाई जिम्मा लगाई तोरण पुनःस्थापित गरिएको हो ।
कुमारी घरका संरक्षक गौतम शाक्यले तोरण चोरीको घटना स्मरण गर्दै भन्नुभयो, “२०५६/५७ सालतिर साँझको समयमा चोरले ट्याक्सीमा राखेर तोरण लगेका थिए। तोरण निकाल्दै गर्दा देख्नेहरूलाई चोरले ‘मर्मत गर्न लैजान लागेको’ भनेर झुक्याएछन्।”
उहाँका अनुसार त्यसबेला तीन महिनाभित्र तीनवटा तोरण हराएका थिए। तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब तीन वर्षपछि ८० हजार रुपियाँ खर्च गरेर काठको प्रतिलिपि बनाई राखिएको थियो। अहिले सक्कली तोरण नै फिर्ता आएपछि कुमारी घरले आफ्नो प्राचीन स्वरूप पुन: प्राप्त गरेको छ।
तोरणको विशेषता र इतिहास
कुमारी घरको भुइँ तलामा बायाँतर्फबाट पाँचौँ नम्बरमा पर्ने झ्यालमा यो तोरण पुनःस्थापित गरिएको छ । १७ देखि १८ औँ शताब्दीमा निर्माण भएको मानिने यो तोरणमा अर्धगोलाकार काठको ‘क्षेपु’ आकृति कुँदिएको छ । १०४.५५ सेन्टिमिटर लामो यो कलाकृति राजा जयप्रकाश मल्लको पाला (वि.सं. १८१४) मा बनेको कुमारी बहालको महत्त्वपूर्ण अंग हो ।
सम्पदा संरक्षणमा कोसेढुङ्गा
तोरण पुनःस्थापनापछि प्रतिक्रिया दिँदै उपप्रमुख सुनिता डंगोलले हराएका कलाकृति र सम्पदालाई मौलिक स्थानमा फर्काउने ‘असल अभ्यास’ को थालनी भएको बताउनुभयो । यस्तै, वडा अध्यक्ष मचाराजा महर्जनले वडाको प्राचीन स्वरूप फर्किँदै गरेकोमा खुसी व्यक्त गर्दै थप काम गर्न हौसला मिलेको बताउनुभयो ।
यो तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति सन् २०२२ मार्च १८ (२०७८ चैत ४) मा लण्डनस्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो। सन् १९७० को युनेस्को महासन्धि, जसले सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारलाई निषेध गर्छ, सोही व्यवस्थाको प्रयोग गरी नेपालले हराएका मूर्ति र कलाकृतिहरू फिर्ता ल्याउने अभियान चलाइरहेको छ ।