२७ नोभेम्बरभित्र अमेरिकी शान्ति योजना स्वीकार गर्न युक्रेनलाई दबाब

काठमाडौँ, मंसिर ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि तयार पारिएको २८ सूत्रीय शान्ति योजना स्वीकार गर्न युक्रेनलाई नोभेम्बर २७ (मङ्सिर १२) सम्मको समयसीमा (अल्टिमेटम) दिनुभएको छ । राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा वार्तामा सार्थक प्रगति देखिए समयसीमामा केही लचकता अपनाउन सकिने भए पनि नोभेम्बर २७ नै उपयुक्त समय भएको बताउनुभयो । उहाँले यो योजना अघि बढ्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको स्वीकृति अनिवार्य रहेको स्पष्ट पार्नुभएको छ ।

ट्रम्पको यो कडा अल्टिमेटम सार्वजनिक हुनुअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देश ‘सङ्कटको नयाँ चरण’ मा प्रवेश गरेको बताउनुभएको थियो । उहाँले युक्रेन अहिले ‘आफ्नो गरिमा गुमाउने वा प्रमुख साझेदार (अमेरिका) गुमाउने’ जस्तो कठिन मोडमा उभिएको बताउनुभयो ।

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्ससँगको फोन वार्तापछि जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अमेरिका र युरोपेली पक्षसँग राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा छलफल गरेर शान्तिको मार्ग खोज्न तयार रहेको सङ्केत गर्नुभएको छ । यद्यपि, उहाँले २८ बुँदे कठोर प्रस्ताव स्वीकार्ने वा अर्को कष्टकर जाडो सहने भन्ने विकल्पमध्ये एक रोज्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ । उहाँले यो प्रस्ताव आफूले अलास्कामा ट्रम्पसँग गरेको छलफलकै परिमार्जित रूप भएको बताउनुभयो ।

सुरक्षा परिषद्को बैठकमा बोल्दै पुटिनले भन्नुभयो, “हामीले अद्यावधिक २८–बुँदे प्रस्ताव प्राप्त गरेका छौँ । यसको विस्तृत अध्ययन बाँकी भए पनि मलाई विश्वास छ, यो अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छ ।” पुटिनले यसअघि मस्कोले अमेरिकी पहल स्वीकार गरे पनि किएभले अस्वीकार गर्दा प्रक्रिया रोकिएको दाबी गर्नुभयो ।


वासिङ्टनले अघि सारेको यो २८–बुँदे प्रस्ताव विगत तीन वर्षदेखि अवरुद्ध शान्ति प्रक्रियालाई ब्युँताउने प्रयास हो । ट्रम्पले युक्रेनले केही भूभाग गुमाउन सक्ने चेतावनी दिँदै शान्ति स्थापनाका लागि यो यथार्थवादी बाटो भएको दाबी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *