भेनेजुएला नजिकै अमेरिकी सैन्य गतिविधिप्रति ब्राजिलको गम्भीर चिन्ता

काठमाडौँ, मंसिर ७ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले छिमेकी मुलुक भेनेजुएला नजिकै अमेरिकी सैन्य आधार शिविर स्थापना हुने संकेतप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । जोहानेसबर्गमा सम्पन्न जी-२० शिखर सम्मेलनमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति लुलाले भन्नुभयो, “क्यारेबियन सागरमा अमेरिकाले खडा गरेको सैन्य संयन्त्रलाई लिएर म निकै चिन्तित छु। यो यस क्षेत्रकै चासोको विषय भएकाले म यसबारे राष्ट्रपति ट्रम्पसँग छलफल गर्न चाहन्छु ।”

अब युद्धको कुनै कारण नभएको जिकिर गर्दै लुलाले रुस र युक्रेन युद्धको गल्ती दोहोर्याउन नहुनेमा जोड दिनुभयो। “युद्ध सुरु भएपछि त्यसको अन्त्य कहिले र कसरी हुन्छ भनेर अनुमान गर्न निकै कठिन हुन्छ,” उहाँले भन्नुभयो। ब्राजिलको सीमा भेनेजुएलासँग जोडिएको उल्लेख गर्दै उहाँले सम्भावित द्वन्द्व सुरु हुनुअघि नै समाधान खोज्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय अमेरिकाले भेनेजुएला नजिकैको क्षेत्रमा विमानवाहक युद्धपोत, अन्य नौसैनिक जहाज र ‘स्टेल्थ’ विमानहरू परिचालन गरेको छ। साथै, अमेरिकी सेनाले सेप्टेम्बरयता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा २० भन्दा बढी जहाजमा कारबाही गर्दा ८० जनाभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाले उनीहरू लागुऔषध तस्कर भएको दाबी गरे पनि त्यसको पुष्टि गर्ने प्रमाण पेश गरेको छैन ।

वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ‘नार्को-टेररिज्म’ (लागुऔषध आतङ्कवाद) को नेतृत्व गरेको आरोप लगाएको छ। यता, विश्व व्यापार र जलवायु परिवर्तनसम्बन्धी अमेरिकी नीतिविपरीत रहेको तथा दक्षिण अफ्रिकाको आन्तरिक जातीय मुद्दालाई कारण देखाउँदै राष्ट्रपति ट्रम्प भने जी-२० शिखर सम्मेलनमा सहभागी हुनुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *