यमनमा जासुसीको आरोपमा १७ जनालाई मृत्युदण्डको फैसला
काठमाडौँ, मंसिर ७ । यमनको राजधानी सानास्थित हुथी विद्रोही नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित ‘साबा’ समाचार एजेन्सीका अनुसार, दोषी ठहर भएकाहरूलाई सार्वजनिक स्थानमा ‘फायरिङ स्क्वाड’ मार्फत गोली हानेर मृत्युदण्ड दिइनेछ । अदालतले अन्य एक पुरुष र एक महिलालाई १० वर्षको कैद सजाय तोकेको छ भने एकजनालाई निर्दोष सावित गर्दै सफाइ दिएको छ ।
हुथी अदालतले सन् २०२४ देखि २०२५ को बिचमा ती व्यक्तिहरूले ‘अमेरिकी, इजरायली र साउदी गुप्तचर निकायसँग मिलेर जासुसी सञ्जाल चलाएको’ आरोप लगाएको छ। अभियोजन पक्षका अनुसार, उनीहरूले संवेदनशील सैन्य सूचना, मिसाइलहरूको विवरण र उच्च अधिकारीहरूको लोकेसन शत्रु राष्ट्रहरू (साउदी अरेबिया, बेलायत, अमेरिका र इजरायल) लाई उपलब्ध गराएका थिए। यी सूचनाका कारण दर्जनौँ मानिसको मृत्यु भएको र भौतिक पूर्वाधारमा क्षति पुगेको दाबी हुथी पक्षको छ ।
प्रतिवादीका वकिल अब्दुलबासित गाजीले फैसलाविरुद्ध अपिल गर्न सकिने बताउनुभएको छ । हुथी विद्रोहीले सन् २०१४ को गृहयुद्धयता संयुक्त राष्ट्रसङ्घका कर्मचारी, विदेशी कूटनीतिक नियोगका कामदार र सर्वसाधारणमाथि धरपकड तीब्र बनाएको छ। राष्ट्रसङ्घले आफ्ना कर्मचारीमाथि लगाइएको जासुसीको आरोपको खण्डन गर्दै आएको छ ।
पछिल्लो समय गाजा युद्धको समर्थनमा हुथीले लाल सागरमा जहाजहरूमाथि आक्रमण बढाएपछि अमेरिका र इजरायलले यमनमा जवाफी हवाई हमला गरेका छन् । यस वर्षको सुरुमा इजरायली आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरूको मृत्यु भएपछि तनाव थप चर्किएको छ ।
