गोंगबु बसपार्कमा युवतीको हत्या आरोपमा एक जना पक्राउ, लागुऔषधको विवादमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो

काठमाडौं, ८ मंसिर। काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको आकलन गरेका थिए । तर, सो शव महिलाको भन्ने पुष्टि भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको हो।

यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।
शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको थिएन। सडिसकेको अवस्थामा फेला परेको युवतीको शव पहिचान गर्न प्रहरीलाई कठिन भएको थियो। प्रहरी स्रोतका अनुसार, शव रुकुम घर भएकी करिब २० वर्षीया माया भन्ने आयुषा मगरको रहेको पुष्टि भएको छ।

अनुसन्धानपछि उनको हत्या आरोपमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगर भन्ने व्यक्तिलाई पक्राउ गरेको छ। उनी बसपार्कको एक होटलका कुक हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच सामान्य चिनजान भएको र लागुऔषधको विषयमा विवाद हुँदा हत्या भएको खुलेको छ।