दाहसंस्कारका लागि ल्याइएकी थाई महिला कफिनमै जीवित भेटिएपछि यस्ताे भयाे !

बैङ्कक, ९ मङ्सिर । थाइल्यान्डको नोन्थाबुरी प्रान्तस्थित ‘वाट रात प्राखोङ थाम’ बौद्ध मन्दिरका कर्मचारीहरू दाहसंस्कारका लागि ल्याइएकी एक ६५ वर्षीया महिला कफिनभित्र जीवितै भेटिएपछि अचम्मित भएका छन्।

मन्दिरका महाप्रबन्धक पैराट सुदथुपका अनुसार, ती महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट करिब ५०० किलोमिटर यात्रा गराएर दाहसंस्कारका लागि ल्याएका थिए। महिला दुई वर्षदेखि ओछ्यानमा परेकी थिइन् र दुई दिनअघि सास फेर्न छाडेको भन्दै मृत घोषणा गरिएको थियो।

कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएपछि मन्दिरका कर्मचारीहरूले कफिन खोलेर हेर्दा महिलाले आँखा खोलेर सहायता मागिरहेकी थिइन्। पैराटका अनुसार, ती महिलाले पहिले नै आफ्नो अंग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन्, तर मृत्यु प्रमाणपत्र नहुँदा अस्पतालले प्रस्ताव अस्वीकार गरेको थियो।

मन्दिरले पनि आवश्यक कागजात नहुँदा निःशुल्क दाहसंस्कार सेवा दिन असमर्थ भएको थियो। सोही विषयमा कुराकानी भइरहँदा कफिनबाट आवाज आएपछि महिलालाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ। मन्दिरका मठाधीशले महिलाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *