जापानद्वारा अनावश्यक खर्च कटौतीका लागि ‘सरकारी दक्षता विभाग’ स्थापना
काठमाडौँ, मंसिर ९ । जापान सरकारले १३५ अर्ब डलरको आर्थिक प्रोत्साहन प्याकेजसँगै बढ्नसक्ने वित्तीय भारलाई सन्तुलनमा राख्न र सरकारी खर्चमा हुने चुहावट रोक्न मङ्गलबार ‘सरकारी दक्षता विभाग’ को स्थापना गरेको छ । यो नयाँ पहललाई संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत प्रविधि उद्यमी एलन मस्कले नेतृत्व गरेको सरकारी दक्षता अभियानकै जापानी संस्करणका रूपमा लिइएको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री सानाए ताकाइचीले गत साता मात्रै मुलुकको अर्थतन्त्रलाई उकास्न ठूलो मात्रामा सरकारी खर्च कटौती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। बढ्दो राष्ट्रिय ऋणको चिन्ताका बाबजुद सरकारले वित्तीय उत्तरदायित्व बहन गर्दै यो कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। नयाँ विभागको घोषणा गर्दै प्रधानमन्त्री ताकाइचीले भन्नुभयो, “आर्थिक अनियमितता र फजुल खर्च नियन्त्रणका लागि जनस्तरबाट उच्च माग भइरहेको छ ।”
अर्थमन्त्री सात्सुकी कातायामाले एक संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै वित्तीय स्थिरता कायम राख्नु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै वित्तीय अनुशासन र स्थिरता सर्वोपरि छ। हामी यसका लागि निरन्तर काम गरिरहेका छौँ भन्ने विश्वास जनतालाई दिलाउन चाहन्छौँ ।”
अमेरिकी मोडेलमा आधारित भए पनि जापानी संस्करणमा करिब ३० जना सरकारी अधिकारीहरूको टोली रहनेछ । अर्थमन्त्री कातायामाका अनुसार यो विभागले सरकारी निकायहरूमा संरचनात्मक सुधार गर्ने, विशेष कर छुटका प्रावधानहरूको पुनरावलोकन गर्ने र नीतिगत रूपमा कम प्रभावकारी देखिएका कार्यक्रमहरूको समीक्षा गर्ने जिम्मेवारी पाएको छ ।
