नाइजेरियामा बढ्दो सामुहिक अपहरण तत्काल रोक्ने प्रक्रिया सक्रिय पार्न राष्ट्र संघको आग्रह
काठमाडौँ, मंसिर ९ । संयुक्त राष्ट्रसङ्घले उत्तरी नाइजेरियामा बढ्दै गएको सामूहिक अपहरणका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्न नाइजेरियाली अधिकारीहरूलाई आग्रह गरेको छ । मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल-खितानले उत्तर-मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिले आफूहरूलाई स्तब्ध बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता घृणित आक्रमणहरू रोक्न र दोषीलाई जवाफदेही बनाउन हामी नाइजेरियाली सरकारसमक्ष ‘सबै कानुनी उपाय’ अपनाउन आग्रह गर्दछौँ ।”
कहालीलाग्दो तथ्याङ्क
पछिल्ला केही दिनमा मात्रै करिब ३५० स्कुले बालबालिकासहित सयौँ नाइजेरियाली नागरिकहरू अपहरणमा परेका छन् । प्रवक्ता खितानका अनुसार गत नोभेम्बर १७ यता नाइजर, केब्बी, क्वारा र बोर्नो राज्यमा गरी कम्तीमा ४०२ जना अपहरणमा परेका छन् । दुखद् कुरा के छ भने, अपहरितमध्ये हालसम्म केवल ८८ जना मात्र मुक्त हुन सफल भएका छन् ।
राष्ट्रसङ्घले अझै पनि कब्जामा रहेका सबै नागरिकको सुरक्षित घर फिर्ती सुनिश्चित गर्न, घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न तथा अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन जोड दिएको छ ।
एक दशक लामो पीडा
अफ्रिकाको सर्वाधिक जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बढ्दो सुरक्षा चुनौतीका कारण केही क्षेत्रमा विद्यालयहरू बन्द हुन थालेका छन् । करिब एक दशकअघि उत्तरपूर्वी बोर्नो राज्यको चिबोक सहरबाट इस्लामिक लडाकुहरूले करिब ३ सय स्कुले छात्राहरूलाई अपहरण गरेपछि नाइजेरियाले निरन्तर सामूहिक अपहरणको शृङ्खला भोगिरहेको छ । हाल आपराधिक गिरोहहरूले फिरौती असुल्ने उद्देश्यले यस्ता अपहरणहरू गर्ने गरेका छन् ।
सन् २००९ देखि इस्लामिक विद्रोहको केन्द्र बनेको बोर्नो राज्यमा हालसम्म विद्रोही गतिविधिका कारण ४० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
