अन्तरिक्षमा फसेका यात्रीको उद्धारका लागि चीनद्वारा ‘सेन्जोउ-२२’ सफलतापूर्वक प्रक्षेपण
काठमाडौँ, मंसिर ९ । क्षतिग्रस्त अन्तरिक्ष यानका कारण ‘तियाङ्गोङ’ अन्तरिक्ष स्टेशनमा फसेका तीन अन्तरिक्ष यात्रीको सुरक्षित फिर्तीका लागि चीनले मङ्गलबार ‘सेन्जोउ-२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ।
तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरूले प्रयोग गर्ने यानमा प्राविधिक समस्या देखिएपछि उनीहरू अस्थायी रूपमा त्यहीँ रोकिएका थिए । चिनियाँ अधिकारीहरूका अनुसार, यी यात्रीहरूले नोभेम्बर १ मा स्टेशनमा डक गरेका थिए। अब उनीहरूलाई पृथ्वीमा सुरक्षित अवतरण गराउन नवनिर्मित ‘सेन्जोउ-२२’ को प्रयोग गरिनेछ ।
यसअघि ‘सेन्जोउ-२०’ मिसनका क्रममा पनि यानको झ्यालमा क्षति पुगेपछि अन्तरिक्ष यात्रीहरूको फिर्ती यात्रा नौ दिनले लम्बिएको थियो । उक्त टोली ‘सेन्जोउ-२१’ को प्रयोग गरेर पृथ्वी फर्किएको थियो । सोही ‘शेन्जोउ–२१’ यानले हाल स्टेशनमा अलपत्र परेको प्रतिस्थापन टोलीलाई त्यहाँ पुर्याएको थियो ।
अघिल्लो टोली फर्किएपछि स्टेशनमा रहेका तीन नयाँ यात्रीहरूसँग आपतकालीन अवस्थामा फिर्ता हुने सुरक्षित यान उपलब्ध थिएन। राज्य सञ्चालित टेलिभिजन सिसिटिभीका अनुसार, क्षति भएको ‘शेन्जोउ-२०’ यान हाल अन्तरिक्षमै छ। यसलाई पृथ्वीमा फर्काएर विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ। प्रारम्भिक जाँचमा उक्त यानले यात्रीहरूको सुरक्षित यातायातका लागि आवश्यक मापदण्ड पूरा गर्न नसक्ने देखिएपछि नयाँ यान प्रक्षेपण गरिएको हो ।
चिनियाँ सेनाको व्यवस्थापनमा रहेको अन्तरिक्ष कार्यक्रमले पछिल्लो समय तियाङ्गोङ स्टेशनको विस्तार र मिसनहरूमा तीव्र प्रगति गरेको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै अमेरिकाले चीनलाई ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन’ (आईएसएस) मा सहभागी हुन रोक लगाएपछि चीनले आफ्नै स्टेशन निर्माण गरेको हो ।
चिनियाँ भाषामा ‘स्वर्गीय दरबार’ अर्थ लाग्ने तियाङ्गोङ सन् २०२१ देखि सञ्चालनमा आएको हो । आकारमा यो २५ वर्ष पुरानो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनभन्दा सानो भए पनि चीनका लागि यो एक प्रमुख रणनीतिक र वैज्ञानिक उपलब्धि मानिन्छ ।
