गिनी-बिसाउमा निर्वाचन परिणाम नआउँदै तनाव : राष्ट्रपति भवन नजिकै चल्यो गोली
काठमाडौँ, मंसिर १० । पश्चिम अफ्रिकी मुलुक गिनी–बिसाउमा राष्ट्रपति र संसदीय निर्वाचन सम्पन्न भएको तीन दिनपछि बुधबार राष्ट्रपति भवन नजिकै गोली चलेको छ । निर्वाचनमा सहभागी दुवै पक्षका मुख्य उम्मेदवारहरूले आधिकारिक नतिजा नआउँदै आ-आफ्नो जित भएको दाबी गरेपछि स्थिति तनावपूर्ण बनेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार राष्ट्रपति भवन बाहिर गोलीको आवाज सुनिएपछि मानिसहरू र सवारी साधनहरू भागाभाग गरेका थिए । घटनास्थलबाट भाग्दै गरेका एक प्रत्यक्षदर्शीले एएफपीसँग भने, “हामी बिसाउमा यस्ता घटनाका लागि अभ्यस्त भइसकेका छौँ ।”
बिहीबार निर्वाचनको आधिकारिक परिणाम आउने अपेक्षा गरिएको छ । यद्यपि, वर्तमान राष्ट्रपति उमारो सिसोको एम्बालो र विपक्षी उम्मेदवार फर्नान्डो डायस दुवैले आफूले चुनाव जितेको घोषणा गरिसकेका छन् ।
यसअघि सन् २०१९ को राष्ट्रपति निर्वाचनमा पनि एम्बालो र उनका तत्कालिन प्रतिद्वन्द्वी (परेरा) दुवैले जितको दाबी गर्दा चार महिनासम्म मुलुक राजनीतिक सङ्कटमा फसेको थियो ।
यसपटकको निर्वाचनमा मुख्य विपक्षी दल पीएआईजीसी र यसका नेता डोमिङ्गोस सिमोस परेरालाई भाग लिनबाट बञ्चित गरिएको थियो । आवेदन बुझाउन ढिला गरेको भन्दै सर्वोच्च अदालतले अक्टोबरमा प्रकाशित अन्तिम उम्मेदवार सूचीबाट उनीहरूको नाम हटाएको थियो । परेरा र राष्ट्रपति एम्बालो कट्टर राजनीतिक प्रतिद्वन्द्वी मानिन्छन् ।
पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (इकोवास) को अवलोकन टोलीले मङ्गलबार मात्रै मतदान शान्तिपूर्ण भएको भन्दै प्रशंसा गरेको थियो। तर बुधबारको घटनाले पुनः सुरक्षा चिन्ता बढाएको छ ।
स्वतन्त्रतापछि चारपटक सैन्य विद्रोह (कू) भोगिसकेको गिनी-बिसाउ राजनीतिक अस्थिरताको लामो इतिहास बोकेको मुलुक हो । विश्वका गरिब देशहरूमध्ये एक मानिने यो राष्ट्र ल्याटिन अमेरिका र युरोपबीच लागुऔषध तस्करीको मुख्य केन्द्रका रूपमा समेत चिनिन्छ ।
