श्रीलङ्कामा बेरोजगारी दर घट्दो : ३ लाख ६५ हजार अझै रोजगारविहीन

काठमाडौँ, मंसिर १० । श्रीलङ्काका प्रधानमन्त्री हरिनी अमरसुरियाले मुलुकमा हाल ३ लाख ६५ हजार ९ सय ५१ नागरिक बेरोजगार रहेको जानकारी दिनुभएको छ । बुधबार संसद्‌मा सम्बोधन गर्दै उहाँले बेरोजगारीको ताजा तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री अमरसुरियाले अघिल्लो वर्षको तुलनामा बेरोजगारी दरमा भने सुधार आएको बताउनुभयो । उहाँका अनुसार चालु वर्षको पहिलो त्रैमासिकमा बेरोजगारी दर ३.८ प्रतिशतमा झरेको छ, जुन सन् २०२४ को सोही अवधिमा ४.५ प्रतिशत थियो । त्यस्तै, दोस्रो त्रैमासिकमा पनि अघिल्लो वर्षको ४.७ प्रतिशतको तुलनामा घटेर ३.८ प्रतिशत कायम भएको छ ।

तथ्याङ्कअनुसार उच्च शिक्षा हासिल गरेका नागरिकहरू पनि उल्लेख्य सङ्ख्यामा बेरोजगार देखिएका छन् । विश्वविद्यालयको डिग्री वा सोभन्दा माथिल्लो योग्यता भएका ४२ हजार २ सय ५४ जना कामविहीन रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

यद्यपि, सरकारले रोजगारी सिर्जनामा पहल गरिरहेको उहाँको दाबी छ । सरकारी रोजगार कार्यक्रमअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी स्नातक उत्तीर्ण जनशक्तिलाई सार्वजनिक क्षेत्रमा रोजगारी प्रदान गरिसकिएको उहाँले संसद्लाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *