रेबिज नियन्त्रणका लागि जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बिक्रीमा प्रतिबन्ध
काठमाडौँ, मंसिर १० । इन्डोनेसियाको राजधानी जकार्ताले कुकुर, बिरालो र चमेरोको मासु बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाएको छ । रेबिज सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले शहरका गभर्नर प्रमोनो अनुङले यस्तो निर्णय गर्नुभएको हो । गभर्नर अनुङले सोमबार हस्ताक्षर गरेको उक्त नियमअनुसार, अब खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको बेचबिखन गर्न पाइने छैन । यद्यपि, यो नियम पूर्ण रूपमा कार्यान्वयनमा आउनुअघि व्यवसायीहरूलाई छ महिनाको समय (छुट अवधि) दिइएको छ ।
नयाँ नियममा जीवित जनावर, काँचो मासु वा प्रशोधित मासुजन्य उत्पादनको बिक्रीमा रोक लगाइएको छ । नियम उल्लङ्घन गर्नेहरूलाई लिखित चेतावनी दिइने र अटेर गरे व्यापार इजाजतपत्र नै रद्द गर्न सकिने व्यवस्था गरिएको छ । इन्डोनेसियामा कुकुर र बिरालोको मासु बिक्रीलाई अझै पनि कानुनी मानिने भए पनि पछिल्लो समय विभिन्न शहरहरूले स्थानीय स्तरमा प्रतिबन्ध लगाउन थालेका छन् । पशु अधिकारकर्मीहरूले जकार्ताको यो निर्णयलाई ‘पशु अधिकार र सभ्य राष्ट्र निर्माणको दिशामा चालिएको सही कदम’ भन्दै स्वागत गरेका छन् ।
मुस्लिम बाहुल्य मुलुक इन्डोनेसियामा कुकुरलाई अशुद्ध मानिने हुँदा धेरैले यसलाई घरपालुवा जनावरका रूपमा राख्दैनन् । यद्यपि, सस्तो प्रोटिनको स्रोतका रूपमा केही समुदायमा कुकुरको मासु खाने प्रचलन अझै विद्यमान छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार इन्डोनेसियामा रेबिजका कारण बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२५ को जनवरीदेखि मार्चसम्म मात्रै रेबिज सङ्क्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ ।
